२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


संविधानको सार्थक कार्यान्वयन नेपाली कांग्रेसले मात्रै गर्न सक्छ : गगन थापा


195
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दावी गर्नुभएको छ ।

विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यामबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली कांग्रेस बाहेक अन्य दलले गर्न नसक्ने बताउनु भएको हो ।

महामन्त्री थापाले कांग्रेससँग समन्वयका साथ संविधानको सार्थक कार्यान्वयन गर्दै अघि बढने तागत रहेको जिकीर समेत गर्नु भयो । उहाँले कतिपय दलले संविधानमा किञ्चित सुधार आवश्यक नभएको भन्ने गरेको, कतिपय दलले भने त्यसको आमूल परिवर्तन गर्नुपर्छ भन्ने गरेको उल्लेख गर्दै कांग्रेसले उनीहरुलाई समेत नेतृत्व गर्दै संविधानमा आवश्यक सुधार गर्दै लैजाने समेत बताउनुभयो ।

महामन्त्री थापाले सबै नेपाली देशभक्त हुन भन्ने मान्यताको आधारमा नेपाली कांग्रेस अघि बढने बताउनुभयो । उहाँले सबै जाति, धर्म, संस्कार र संस्कृतिको उत्तिकै सम्मान गरेर मात्रै सबै नेपालीलाई देशभक्त बनाउन सकिने भएकाले त्यो काममा नेपाली काँग्रेस प्रतिवद्ध भएर लाग्ने आश्वासन समेत दिनुभयो ।