१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने


611
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ ।

विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सर्भर अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो ।

एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुदाँ अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई समस्या भएको छ । तर, यता वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताउनुभयो । उहाँले बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताउनुभएको हो ।

महानिर्देशक दाहालले वैदेशिक रोजगारी सम्बन्धि सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको बताउनुभयो । उहाँले सरकार सर्भिस दिने काम धेरै अगाडि गएपनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताउनुभयो ।

महानिर्देशक दाहालले अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताउनुभयो । उहाँले नयाँनयाँ प्रविधि र सर्भिसहरु दिइरहेकाले त्यही अनुसारको प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताउनुभयो । उहाँले सर्भर स्तरोन्नती गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुट्याएकाले चाँडै काम थालनी गर्ने बताउनुभयो ।

त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अनलाइन प्रविधिलाई स्तरोन्नती गर्ने लागिएको बताउनुभयो । उहाँले स्थानीय तह, व्यक्तिगत, एजेन्सीहरुले पनि चलाउने हुँदा १२ सय भन्दा बढीले प्रयोग गर्दा सर्भरले धान्न नसक्दा समस्या आएको बताउनुभयो । उहाँले सर्भरले १२ सय भन्दा बढीले एकै पटक प्रयोग गर्ने अपेक्षा नभएको बताउनुभयो ।

महानिर्देशक दाहालले अहिले अवरुद्ध भएको अनलाइन प्रणाली केही दिनमा नै समस्या समाधान भएर सुचारु गर्ने तयारीमा मन्त्रालय लागेको बताउनुभयो ।