
काठमाडौं । पश्चिम नेपालमा बुधबार रातीदेखि भारी वर्षा भईरहेको छ ।
नवपरासीदेखि पश्चिम कञ्चनपुरसम्मै भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुरामा बुधबार राती भारी मात्रामा वर्षा भएको विभागले जनाएको छ ।
वुद्ध जन्मस्थल लुम्बिनी आसपासमा पछिल्लो २४ घण्टामा १ सय ४२ दशमलव ६ मिलिमिटर र कञ्चनपुरको बेलौरीमा १ सय २६ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
कञ्चनपुरकै सुन्दरपुरमा १ सय ९ दशमलव २ मिलिमिटर, कपिलवस्तुको तौलिहवामा ८६ दशमलव ८ मिलिमिटर, नवलपुरको दुम्कौलीमा ६४ दशमलव २ मिलिमिटर र धनगढी विमानस्थलमा ५४ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
लुम्विनी र कैलालीको सुन्दरपुरमा अति भारी वर्षा भएको र क्षेत्रका होचा स्थानमा डुबान हुन सक्ने देखिएको भन्दै विभागले उच्च सतर्कता अपनाइराख्न आग्रह गरेको छ ।
बुधबार राती सूचना जारी गर्दै विभागले कञ्चनपुरका सुहेली, चौधर लगायत साना खहरे खोलाहरुमा एक्कासी बाढीको जोखिम देखिएको जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्