
काठमाडौं । म्याग्दीमा उत्पादित वर्षे आलुले बजार नपाएपछि किसानहरु चिन्तित बनेका छन् ।
पश्चिम म्याग्दीका मालिका, मंगला र धौलागिरि गाउँपालिकाका प्रत्येक घर अहिले आलुले भरिभराउ छन् । कतिपयका बारीमा आलु खन्नै बाँकी छ । तर,आलुको माग कतैबाट नआएपछि किसानहरु चिन्तित बनेका छन् ।
विगतमा प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्ममा विक्री हुने आलु यो वर्ष भने प्रतिकिलो ३५ रुपैयाँमा दिँदा पनि बिक्री हुन नसकेको किसान बताउँछन् । म्याग्दीमा स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । म्याग्दीका लेकाली क्षेत्रमा वर्षे आलु लगाउने गरिन्छ ।
वर्षे आलुको उत्पादन पनि निकै राम्रो हुने र स्वाद पनि मिठो हुने गर्दछ । आलु समयमै बेच्न नपाए कुहिने डर हुन्छ । गत वर्षको तुलनामा यो वर्ष झण्डै सात प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत म्याग्दीका रघुगंगा गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ र अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ मा गत वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम सञ्चालन भईरहेको छ ।
म्याग्दीमा यो वर्ष एक हजार ६ सय ५० हेक्टरमा आलु खेति गरिएको र २५ हजार मेट्रिक टन बढी आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ छन् ।
प्रतिक्रिया दिनुहोस्