२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


शिक्षा ऐनविरुद्ध शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा


273
Shares

काठमाडौं । शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेपाल शिक्षक महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुनेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग प्रश्तावित ऐनले सम्बोधन नगरेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् ।

महासंघका महासचिव लक्ष्मीकीशोर सुवेदीले सरकारका प्रतिनिधिहरुले आफूसँग छलफल नै नगरी मस्यौदा ल्याएको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले अहिले सार्वजनिक भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ ले प्रवन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वभिमानको विरुद्धमा रहेको बताउनुभयो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले प्रश्तावित मस्यौदामा सम्बन्धित स्थानीय तहको वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने अधिकार विद्यालयको हकहीतका लागि नहुने बताउनुभयो । उहाँले सरकारले ट्रेड युुनीयनको अधिकार हनन गर्न खोजेको बताउनुभयो । शिक्षकलाई दुःख दिँदैमा शिक्षाको गुणस्तर नसुध्रिने बताउनुभयो ।

महासंघले शिक्षकमैत्री शिक्षा ऐन नआए आन्दोलनलाई जारी राख्ने चेतावनी दिएको छ ।