२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अब कोही पनि पैसा अभावमा उपचार नपाएर मर्नु पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत


8.45k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताउनुभएको छ ।

शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताउनुभएको हो । उहाँले अब एकजना मान्छेपनि पैसा नभएको कारणले अस्पतालको बरण्डामा आत्महत्या गर्नु नपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भइरहेको पनि बताउनुभयो । मन्त्री बस्नेतले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न मन्त्रालय तयार रहेको उहाँको भनाई छ ।

मन्त्री बस्नेतले सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताउनुभयो । उहाँले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरुमा सुधार आइरहेको बताउनुभयो । अस्पतालहरुले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रवन्धलाई पनि लागू गर्न सफल भएको उहाँको भनाई छ ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरु दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका बताउनुभयो ।