
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।
शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाबारे प्रारम्भिक टिप्पणी गरेको हो ।
बैठकमा सांसदहरुले सो घटनालाई आपत्तिजनक, अप्रत्याशित र गम्भिरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । कांग्रेसले सो घटनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न साउन २८ गते आइतबार पुनः संसदीय दलको बैठक बोलाएको छ । आज सांसदहरुले सो घटनाबारे आ–आफनो धारणा राख्नुभएको र आइतबार पुनः बस्ने बैठकले त्यस सम्बन्धमा आधिकारिक निर्णय लिने पनि प्रमुख सचेतक लेखकले बताउनुभयो ।
त्यसैगरी बैठकले बाढी, पहिरो र डुबान पीडित तथा लम्पी स्किन महामारीको मारमा परेका किसानहरुलाई उचित क्षतिपूर्ति र राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । त्यसैगरी कांग्रेस संसदीय दलले डेंगु महामारी नियन्त्रण र आँखामा इन्फेक्सन हुने रोग नियन्त्रणका लागि प्रभावकारी भुमिका निर्वाह गर्न पनि सरकारलाई सचेत गराएको छ । प्रमुख सचेतक लेखकका अनुसार बैठकले खानेपानीको अभाव र कम वर्षाका कारण धानबाली लगाउन नसकेका तराईंका किसानहरुको समस्या पनि तत्काल समाधान गर्न सरकारलाई दवाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्