६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्थानीय स्तरमा उत्पादित अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले किन्ने


143
Shares

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अंगुर स्थानीय तहले नै खरिद गर्ने भएको छ ।

त्रिपुराकोट, गल्ली, रल्ली, खदाङफोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अंगुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिनुभयो ।

बजारको अभावमा प्रत्येक वर्ष किसानले बेहोर्नुपरेको ठूलो घाटालाई मध्यनजर गर्दै यस वर्ष नगरपालिकाले नै अंगुर खरिद गरी दिने भएको हो । खरिद गरेको अंगुरको जुस बनाएर बिक्री वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अंगुरको भुक्तानी प्रतिकिलो ८० रुपैयाँका दरले कृषकलाई उपलब्ध गराउने भएकाले यस वर्ष कृषकलाई डोकोमा बोकेर बजार खोज्दै जानुपर्ने बाध्यता हटेको छ । नगरपालिका अन्तर्गतका किसानले उत्पादन गरेको अंगुर खरिद गर्दा झण्डै दश लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।

अघिल्ला वर्षहरुमा अंगुर बिक्री नहुँदा किसानलाई घाटा भएको थियो । नगरपालिकाले सम्पूर्ण किसानले उत्पादन गरेको अंगुर किन्ने निर्णयले उत्साहित भएको त्रिपुराकोटका अंगुर किसान कमल हमालले बताउनुभयो ।