
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गर्नुभएको छ ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उहाँले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसदको सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा आफू छक्क परेको बताउनुभयो ।
गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले काँग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भनि प्रश्न समेत गर्नुभयो । अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल काँग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिनुभयो । प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उहाँले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताउनुभयो । अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफूविरुद्ध नबोल्न तर्साएको आरोप समेत लगाउनुभयो ।
ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकार गम्भिर नभएको जिकिर समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्