८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम गर्दै


247
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकतालाई सम्बोधन गर्ने नीति तयार पार्न ‘पोलिसी ह्याकाथन’ कार्यक्रमको घोषणा गरेकोे छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै युवा र नीति निर्माण प्रक्रियाबीचको खाडल हटाउन पोलिसी ह्याकाथनको घोषणा गरिएको हो ।

प्रतियोगितामा नीतिविज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने कांग्रेसका सहमहामन्त्री जीवन परियारले जनकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आवेदन खुला गरिएको छ । आगामी भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ५ गते १० टोली छनोट गरिनेछ । भदौ ९ गते पार्टी कार्यालयमा फाइनल हुने परियारले बताउनुभयो । प्रतियोगितामा तीन हजारदेखि पाँच हजार शब्दसम्मको नीतिपत्र तोकिएको ढाँचामा प्रस्तुत गर्नुपर्नेछ ।

प्रतियोगितामा पहिलो हुनेले ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष तीन टोलीको अवधारणापत्र र उत्कृष्ट विचार नीति निर्माणका क्रममा ग्रहण गरिने सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।