
काठमाडौं । बर्दियामा अति भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो ।
विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ,भने सानो श्री चेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ ।
२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई भारी वर्षा, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई धेरै भारी वर्षा र २०० मिलिलिटरभन्दा धेरै पानी पर्नुलाई अति भारी वर्षा भएको मानिन्छ । बर्दीयाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
अति भारी वर्षा भएकाले बर्दियामा बाढीको उच्च जोखिममा परेको छ । यहाँका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् । स्थानीय खोलामा आएको बाढीले बार्बर्दिया नगरपालिका–८ का सबै गाउँहरू डुबानमा परेका छन् ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ । बर्दियाँसगै सिन्धुलीको मरिनखोला स्टेशन, मकुवानपुरको मकवानपुरगढी, हेटौंडा स्टेशनमा पनि धेरै वर्षा मापन भएको छ । मरिनखोलामा १८१.६, मकवानपुरगढीमा १५५.८ र हेटौंडामा १६७.२ मिलिमिटर वर्षा मापन भएको छ ।
प्रतिक्रिया दिनुहोस्