
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ‘विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन, २०८०’ को स्वागत गरेको छ ।
इप्पानले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्र्दै प्रतिवेदनमा विद्युत आयोजनाहरुको विद्यमान अवस्था, विद्युत उत्पादनको अवस्था, विद्युत प्रशारणको अवस्था, समितिले कार्यदेश अनुसार गरेको अध्ययन तथा विश्लेषणका विषय वस्तुहरुको स्वागत गरेको हो ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०७९ माघ २६ गते बसेको बैठकले विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत रुपमा फेरबदल गर्नुपर्ने आवश्यकता महशुस गरी प्रतिवेदन तयार गर्न उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो । समितिले तयार पारेको प्रतिवेदन नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति समक्ष पेस भइसकेको छ ।
पत्रकार सम्मेलनमा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले पीपीए गर्दा क्यु ४० पिओर्ईमा गर्दै आएकोमा आयोजना अप्टीमाइज हुने पिओईकै आधारमा पिपिए गर्ने तथा उत्पादन सम्मिश्रणमा उल्लेखित सीमाभन्दा ३५ प्रतिशत बढी क्षमतामा आरओआर, पिआरओआर र स्टोरेज/पम्प्ड स्टोरेज आयोजनाहरुको विद्युत खरिद बिक्री गर्र्ने कुरा स्वागतयोग्य भएको बताउनुभयो ।
उहाँले पिआरओआरको लागि न्युनतम दुई घण्टा पिकिङ पाउण्डेज भए हुने, सुख्खा यामका महिनाको ३० प्रतिशत उर्जा पुग्नुपर्ने व्यवस्था हटाई वर्षायाम र सुख्खायामको अवधिमा ६/६ महिना कायम गर्ने कुराले पिआरओआर आयोजना विकास गर्न निकै सरल र सहज बनाउने बताउनुभयो ।
डाँगीले इप्पानले लामो समयदेखि राख्दै आएको मागलार्ई कार्यदलले सम्बोधन गरेको भन्दै क्यु ४० मा डिजाइन गर्दै आएको प्रोजेक्टलाई यो प्रतिवेदनले क्यु २५ मा डिजाइन गर्दा हुने बनाएको भन्दै प्रतिवेदन स्वागतयोग्य रहेको बताउनुभयो ।
स्वतन्त्र उर्जा उत्पादकहरुले कुनै कोरीडोरमा प्रशारण लाइनको क्षमता बाँकी भई विद्युत प्रशारण हुने अवस्था रहेमा त्यस क्षेत्रमा रहेका आयोजनाहरुको पिपिए गरिदिन सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्