
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नभएको बताएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताउनुभएको हो । आइतबार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गर्नुभयो ।
कांग्रेस संसदीय दलको बैठक सोमबार पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरुले राख्नुभएको सुझावहरुलाई समेटेर महत्वपूर्ण प्रस्तावहरु पारित गर्ने पनि बताउनुभयो । गत शुक्रबार र आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘नेपाली काँग्रेस संसदीय दलको बैठक निरन्तर चलिराखेको छ । अस्ती र आज गरेर जम्मा ५० जना साथीहरुले बोल्नुभएको छ । अनि, आज पनि बोल्ने क्रम निरन्तर भएको हुनाले भोलि ११ बजे फेरि यसै ठाउँमा हामी बैठक बस्छौं । र, साथीभाईहरुबाट जे पनि भावनाहरु, विचारहरु अभिव्यक्त भएका छन । ती सबैलाई समेटेर हामी भोली संसदीय दलको बैठकबाट केही महत्वपूर्ण प्रस्तावहरु पारित गर्छौं । र, हाम्रो बैठक भोलि समापन हुन्छ । बैठकमा धेरै विषयमा कुरा उठेको छ । अनि ती सबै विषयहरुलाई हामीले समेटेर भोलि महत्वपूर्ण प्रस्ताव पारित गर्छौं । अस्ती र आज गरेर ५० जना माननीय सदस्यहरुले बोल्नुभएको छ । यहाँ सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने कुरा भएको छैन ।’
बैठकमा सांसदहरुले विभिन्न भावनाहरु, विचारहरु व्यक्त गर्नुभएको र त्यसलाई समेटेर सोमबार नै महत्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलले जनाएको छ । प्रमुख सचेतक लेखकका अनुसार काँग्रेस संसदीय दलको बैठक सोमबार सम्पन्न हुने छ ।
प्रतिक्रिया दिनुहोस्