६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रधानमन्त्रीलाई प्रदीप पौडेलको चुनौति – आफ्नो पार्टीका नेतामाथि अनुसन्धान गर्नुहोस्


2.21k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार पार्टी संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनुभएको हो ।

सांसद पौडेलले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताउनुभयो । उहाँले सुन तस्करी प्रकरणको मात्रै नभइ अन्य चर्चित घटनाहरुको पनि छानबिन हुनुपर्ने बताउनुभयो ।

सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङ बिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताउनुभयो ।

उहाँले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शंका गर्नुपर्ने स्थिति बनेको पनि बताउनुभयो । उहाँले कांग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमानेमा सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिनुपर्ने बताउनुभयो ।

सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरुमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्ध अभियान चलाएका छाैँ साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरुको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताउनुभयो ।

सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्ना बाहेकका पार्टीका नेताहरुमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताउनुभयो ।