
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रूपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ ।
कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागतरुपमा समिति बनाउन सके त्यसले साना ठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताउनुभयो ।
‘उच्च पदस्थहरूबाटै पनि धेरै ठुला भ्रष्टाचार भएका छन् । ती सबै तथ्य अझै बाहिर आउन सकेका छैनन् ।’, उहाँले भन्नुभयो, ‘दोषी कोही छुट्नु हुँदैन । निर्दोष फस्नु हुँदैन भन्ने हो । भ्रष्टाचार विरुद्धको छानबिन गर्ने छुट्टै समिति नै बनाउन सके त्यसले भ्रष्टाचारलाई न्यूनीकरण गर्नमा मद्दत मिल्ने छ ।’ सरकारले भ्रष्टाचारका विषयमा केही आशा लाग्दा काम गरेको भन्दै डा।भट्टराईले सन्तुष्ट भइहाल्नुपर्ने स्थिति भने नरहेको बताउनुभयो ।
ललिता निवास जग्गा प्रकरणको प्रसङ्गमा डा. भट्टराईले कानूनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताउँदै छानबिन निष्पक्ष हुनुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको जगमा रहेर समाजवादीको दिशामा अगाडि बढ्नु अबको आवश्यकता भएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले देशलाई अग्रगामी निकासका लागि सङ्गठन निर्माण अभियानलाई सुदृढ बनाउँदै नागरिकलाई त्यसको विकल्पका लागि तयार रहन आग्रह गर्नुभयो । ‘अब संरचनागत स्वरूप परिवर्तन हुनुपर्छ । केन्द्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउने व्यवस्था लागू हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘हिजो पनि हामीले त्यही कुरा उठाएका थियौँ । आज पनि त्यही कुरालाई जनता माझ लिएर जाँदैछौँ । अबको आवश्यकता त्यही नै हो ।’
प्रतिक्रिया दिनुहोस्