२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुस्ताङको कागबेनीमा बाढीले पुलसहित १० वटा घर बगायो


4.875k
Shares

काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राती आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की पुल, सडकलगायत संरचना बगाएको मुस्ताङका प्रमुख जिल्ला प्रहरीले जनाएको छ ।

बाढीले प्रहरी चौकी, विद्यालय, गुम्बा, पाटीलगायत संरचनामा पनि क्षति पुर्‍याएको पनि बताइएको छ । कागखोलामा मिसिने खहरे खोलाहरु थुनिएका कारण आएको बाढीबाट ठूलो क्षति भएको खबर आएको र सुरक्षाकर्मीहरुसहितको टोली अहिले घटनास्थलतर्फ गईरहेको प्रहरीले जनाएको छ ।

बाढीले केही विद्युतका पोलहरु समेत बगाएको छ । राती अचानक बाढी आएपछि मानिसहरु भागगाग गरेका थिए । बाढीले घरहरु बगाउँदा कालिगण्डकी आंशिक रूपमा थुनिएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

कागबेनीको पक्की पुल बगेपछि माथिल्लो मुस्ताङतर्फको यातायात अवरुद्ध भएको छ ।