
परासी। परासीको बर्दघाट नगरपालिका वडा नं. ८ र ९ को कार्यालयले तोकिएको शुल्क भन्दा बढी रकम उठाएको पाइएको छ ।
वडा कार्यालयले निवेदन दस्तुरबापत १० रुपैयाँ तोकेका छन् । तर सेवाग्राहीबाट निवेदन दर्ता गर्दा अन्य दस्तुरमा उल्लेख भएको ३०० रुपैयाँसमेत समावेश गरेर ३१० रुपैयाँ लिइएको पाइएको हो ।
वडा कार्यालयहरुले अहिले पुराना घर तथा भवनको निवेदन माग गरेर अभिलेखिकरण गरिरहेको छ । सोही अभिलेखिकरणका लागि आउने सेवाग्राहीसँग वडा कार्यालयले निवेदन दस्तुरबापत भन्दै प्रतिव्यक्ति ३१० रुपैयाँ लिने गरेको पाइएको हो । नगरपालिकाले साउन ७ देखि भदौ ९ गतेसम्म वडा कार्यलयबाट अभिलेखिकरणको निवेदन दर्ता गर्न समय दिएको छ ।
वडा नंं. ८ बाट १६ जना र वडा नं. ९ ले ९२ जना सेवाग्राहीसँग उक्त रकम लिएको हो । केही सेवाग्राहीले बढी रकम लिएको बारे बताएपछि त्यसको सोधिखोजी भएको थियो । बढी रकम लिएको पाइएपछि वडा कार्यालयहरुले रकम मिलान गर्ने जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्