
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको प्रभावकारी कार्यान्वयनले मात्रै अर्थतन्त्र चलायमान हुने बताउनुभएको छ ।
सोमबार परिसंघले आयोजना गरेको बजेटवाच कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनबाट नै विद्यमान अर्थतन्त्रले भोगिरहेको मन्दीको असर, मागमा आएको कमी, निजी क्षेत्रको घट्दो मनोबलमा सुधार ल्याउन सकिने बताउनुभयो ।
अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्र मन्दीमा रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र मन्दीमा रहेको अनुभव सरकार, निजी क्षेत्र एवं अर्थतन्त्रले गरिरहेको बताउनुभयो । उहाँले सरकारले समेत यो तथ्यलाई स्वीकार गर्दै आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको बताउनुभयो । अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई गतिशील बनाउँदै बजार माग वृद्धिका लागि लगानी बढाउनुपर्ने, निजी क्षेत्रको मनोबल उकास्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई गतिशील बनाउँदै बजार माग वृद्धिका लागि लगानी बढाउने भरपर्दो माध्यम बजेटको प्रभावकारी कार्यान्वयन भएको बताउनुभयो ।
अध्यक्ष अग्रवालले सरकारको वित्त नीतिमा बोलिने तर, कार्यान्वयन नहुने विगतका परम्परालाई तोड्दै मुलुक आर्थिक रुपान्तरणको मार्गमा रहेको अनुभव सरकारी निकाय र निजी क्षेत्रलाई अनुभव गराउन सक्नुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रको चुनौतिको सामना बजेटको सफल कार्यान्वयनबाट हुने बताउनुभयो ।
परिसंघले गत आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ६३ वटा बुँदा कार्यान्वयन गर्न सुझाव तयार गरेर दिएको तर, ६३ बुँदामध्ये १८ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएको बताएको छ । परिसंघले ४७ प्रतिशत आंशिक कार्यान्वयन भएको र ३५ प्रतिशतमा कुनैपनि प्रगति नभएको पाएको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्