
काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एशिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ ।
आगामी भदौ १ गतेदेखि काठमाठौंमा महिला र पुरुषको एशिया यु–२० रग्बी सेभेन्स शुरु हुँदैछ । उक्त प्रतियोगिताका लागि पछिल्लो ढेड महिनादेखि तयारी गरिरहेको नेपालका दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेका छन् ।
यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण पनि गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौं फर्किए नेपाली टोलीले पछिल्लो तीन दिनदेखि दशरथ रंगशालामा अभ्यास गरिरहेका छन् । श्रीलंका र क्यानडामा दशकभन्दा बढी समय प्रशिक्षण गरिसकेका अनुभवी प्रशिक्षक सन विजेसिंघले नेपालका दुवै टोलीलाई यसै प्रतियोगिताका लागि तयार गरिरहेका छन् ।
पुरुषतर्फ नेपाल समूह ‘बी’ मा छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधिको दाबेदारका रूपमा आफूलाई उभ्याउने लक्ष्य नेपालको छ । त्यसका लागि नेपाली खेलाडीले राम्रो तयारी पनि गरिरहेका छन् । पुरुषतर्फ भने राउण्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले पनि फाइनलमा पुग्ने लक्ष्य लिएको छ ।
पुरुषतर्फ २२ प्रारम्भिक टोलीको पोखरामा ढेड महिनाको प्रशिक्षणबाट १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । पुरुषतर्फ पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोलीले प्रतियोगितामा चुनौति प्रश्तुत गर्दैछ । पुरुषतर्फ पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा साबित्री पूर्जाले श्रीलंकाली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीमा साथ दिँदै आएका छन् ।
यो प्रतियोगितामा पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स (युइर्ए) ले प्रतिष्पर्धा गरेको छैन । यद्यपि, युथको प्रतिष्पर्धामा बलियो मानिएको हङकङ उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी प्रश्तुत गर्ने लक्ष्य बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्