
काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दे देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित स्थानमा फौज परिचालित गरेको जनाएको छ ।
मुस्ताङ जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीका कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार ईलाका जलमग्न र लेदोयुक्त भएको हुँदा स्थानीयवासी र घर सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गरेको सेनाले जनाएको छ । पुलहरु बगाएको ठाउँमा काठको अस्थायी पुल निर्माण गरेको र पीडित स्थानीयवासीहरुलाई खाद्यान्न तथा बन्दोवस्ती सामान व्यवस्थापन गरिएको जनाएको छ ।
त्यस्तै, साउन २८ गते गएको पहिरोमा परि बेपत्ता भएका दोलखा जिल्ला,विगु गाउँपालिका–७, तिनपानेमा दुई वटा ढुङ्गाको बीचमा चेपिएको एकजनाको शव फेला पारी प्रहरीलाई बुझाएको सेना जनाएको छ । साथै, म्याग्दी, सोलुखुम्बु र सिन्धुपाल्चोक उद्धार कार्य जारी राखेको तथा बाढी पहिरो प्रभावित देशका विभिन्न स्थानहरुमा उद्धार जारी रहेको र आकस्मिक विपद्को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्