४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषमा समेटिँदै, प्रधानमन्त्रीले आज घोषणा गर्ने


247
Shares

काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । सामाजिक सुरक्षा कोषले अघि सारेको योजनाको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक घोषणा गर्दै हुनुहुन्छ ।

गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यविधि बने पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । रोजगारदाता निश्चित नभएका कृषि क्षेत्र, निर्माण क्षेत्रलगायतका क्षेत्रमा काम गर्ने श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई समेट्ने प्रयास सरकारले थालेको हो ।

त्यस्ता व्यक्ति तथा समूहलाई कोषमा समेट्न स्थानीय तहमार्फत् सम्झौता गर्न सकिने व्यवस्था कार्यविधिमा छ । स्याङ्जाको फेँदीखोला र मकवानपुरको भिमफेँदी गाउँपालिकाले यस्तो सम्झौता गरेका छन् । अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारले थप्ने ९ दशमलव ३७ प्रतिशत रकम थप गरी २० दशमलव ३७ प्रतिशत रकम कोषमा जम्मा गरिने छ ।

जम्मा हुने उक्त रकम मध्ये १० दशमलव ३७ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्ततामा छुट्याइने छ भने दश प्रतिशत रकम वृद्ध अवस्था सुरक्षा योजनाका लागि छुट्याइने छ ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १ सय ८० महिनाको रकम जम्मा गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।