
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गर्नुभएको छ ।
बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस प्रवक्ता समेत रहनुभएकाल अर्थमन्त्री महतले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समय–समयमा अनावश्यक बहानामा संसद अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताउनुभयो ।
अर्थमन्त्री महतले संसद भनेको समसामहिक विषयमा सहन रुपमा छलफल गर्ने,ऐन कानूनहरु बनाउने थलो भएपनि त्यस्तो बन्न एमालले नदिएको बताउनुभयो । उहाँले सरकारले संघीयताको मर्म अनुसार ऐन कानूनहरु बनाउने संसदमा विधेयक प्रश्ताव गर्ने तयारीमा भएपनि एमालेले संसद अवरुद्ध गर्दा नसकिएको बताउनुभयो ।
अर्थमन्त्री महतले संघीयता, संघीय कानून, संसद र कार्यपालिका चुस्त बनाएर प्राप्त उप्लब्धी बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेको बताउनुभयो । उहाँले सरकार प्रति असहमति रहेका विषयमा संसदभित्रै छलफल गरेर निस्कर्षमा पुग्नुपर्ने बताउनुभयो । उहाँले सहज रुपमा सरकार बन्ने बनाउने कुरा संसदको सर्वाधिकार भएको भन्दै सांसदहरुले जसलाई बहुमत दिएर सरकार बनाउँछ त्यसलाई सहज रुपमा स्वीकार गर्नु एमालेले सक्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री महतले सरकारमा नहुने बित्तिकै संसदलाई असहज बनाउने मानसिकता राख्न नहुने बताउनुभयो । उहाँले कांग्रेस प्रतिपक्षमा बस्दा कहिल्यै पनि संसद अवरुद्ध गर्ने काम नगरेको बताउनुभयो ।
अर्थमन्त्री महतले आर्थिक श्रोतहरु पर्याप्त जुट्न नसकेकाले मधेस सहितका लक्षित भुगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । उहाँले सरकारले मधेस प्रदेशलाई बजेट विनियोजनमा विभेद नगरिएको बताउनुभयो । उहाँले आगामी दिनमा देशको आर्थिक र राजश्व वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्