
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिदै गएको बताउनुभएको छ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिएको बताउनुभएको हो । उहाँले ‘शान्ति सहकार्य र एकता’को सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले मुलुकमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको भनाइ छ । मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको पनि प्रधानमन्त्री दाहालको दाबी छ । सरकार मुलुकमा भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासका लागि अघि बढिरहेको भन्दै उहाँले गठबन्धनमा कुनै समस्या नभएको तर्क गर्नुभयो ।
सरकारले ठूला आयोजना निर्माणमा ध्यान केन्द्रित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने पनि बताउनुभयो । एउटै जलविद्युत् आयोजना १० हजार मेगावाटसम्मका बनाउन सके मुलुकले आर्थिक समृद्धिको बाटो हिँड्न सक्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सरकार क्रियाशील रहेको जानकारी दिनुभयो । दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्नका लागि गराइएको सुनियोजित र कायरतापूर्ण हत्याकाण्ड भएको उहाँको भनाइ छ । दाङको हापुरेमा सरकार र माओबादीबीच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो । कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल र माओवादीका नेता जनार्दन शर्मालगायतका नेताहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्