१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह


11.986k
Shares

काठमाडौं । नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो ।

संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताउनुभयो ।’उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैयाँसम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिवोतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,’ उहाँले भन्नुभयो ।

संघले पानीको बजार अनुगमन गर्नका लागि संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ ।

उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्ने छ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गरेका छन् ।

संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । ‘उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गछौँ,’ उहाँले भन्नुभयो ।

हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९र८० मा मात्र रु ६० करोड मूल्य बराबरको पानी विदेश निर्यात भएको सङ्घले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र झण्डै २०० र देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन् ।