
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ ।
अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्नुपर्दा चालक दलले लिखित घोषणा गरे पुग्ने छ ।
यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियमलाई खुकुलो बनाएको हो ।
यस्तै, उडानलाई थप सुरक्षित र व्यवस्थित बनाउन अब अतिरिक्त समयका लागि चालक दल स्वयमले जिम्मेवारी लिनु पर्ने छ । प्राधिकरणका अनुसार अब उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिजिविलिटी कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति दिइनेछ । तर, चालक दल र त्यसमा पनि पाइलट इन कमाण्ड पूर्ण रुपमा सन्तुष्ट नभएसम्म भने कुनै पनि उडानको अनुमति नदिने प्राधिकरणले स्पष्ट पारेको छ ।
नेपालगञ्ज विमानस्थलबाट साना विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अब अनिवार्य रुपमा फ्लाइट अपरेशन अफिसर राख्नु पर्ने प्राधिकरणको नियममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्