१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


बाढीका कारण क्षतिग्रस्त कागबेनीकाे एक विद्यालयमा पठनपाठन बन्द


182
Shares

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त भएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका– ४ कागबेनीमा स्थित जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ ।

गत साउन २८ गते कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।

बाढीले यस क्षेत्रको २९ घर पूर्ण रुपमा र १३ घरमा आंशिक रुपमा क्षति पुर्‍याएको थियो । बाढीले विद्यालयको कक्षाकोठा, छात्राबास भवन र खेलमैदानमा क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी आगामी भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जनशान्ति माध्यमिक विद्यालयले जनाएको छ ।

यसका साथै कागबेनीमा क्षतिग्रस्त घरहरुमा जमेको गेग्य्रान हटाउने, भत्केका घर तथा होटलबाट सामान निकाल्ने जस्ता कामहरु भइरहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै खानेपानी तथा विद्युत आपूर्ति गराउने काम भइरहेको र अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत गर्न थालिएको जनाइएको छ ।