१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण तालिम प्रभावकारी बनाइँदै


416
Shares

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरुलाई दिने अभिमुखिकरण तालिम प्रभावकारी बनाउने भएको छ ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरुले अभिमुखिकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी बनाउने गरी काम थालेको बताएको हो । वैदेशिक रोजगारमा जानेहरुलाई राज्यले दिने सेवा सुविधा र रोजगारीको लागि जाने देशका विषयमा जानकारी लिनको लागि विभिन्न अभिमुखिकरण तालिम केन्द्रबाट तालिम दिने गरीएको छ । बोर्डले पछिल्लो समय अभिमुखिकरण दिने संस्थाहरुले प्रभावकारी रुपमा तालिम दिनुपर्नेमा जोड दिएको छ ।

बोर्डले तालिम केन्द्रहरुको अनुगमन समेत शुरु गरेको छ ।बोर्डले विशेष गरी वैदेशिक रोजगारीमा जानेहरुकालागि मानसिक तयारी,पासर्पोट सुरक्षा,बीमा,श्रमस्वीकृति,स्वास्थ्य परीक्षण,सम्झौतापत्र,वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम दिने गरेको छ । त्यसको लागि बोर्डले नै शुल्क दिने गरेको छ । वैदेशिक रोजगारीमा जानेहरुले मानसिक तयारी,पासपोर्ट सुरक्षा,विमा,श्रम स्वीकृती,स्वास्थ्य परीक्षण, सम्झौता पत्र,वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा देखिने समस्या कम गर्ने उद्देश्य बोर्डको रहेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले काठमाडौंका केही अभिमुखिकरण तालिम केन्द्रहरुले तालिममा सहभागिता नभएकाहरुलाई दिन तालिम लिएको प्रमाणपत्र दिएको गुनासो आएको बताउनु भयो । उहाँले तालिम केन्द्रहरुले अभिमुखिकरण तालिम नलिनेहरुलाई अवैधानिक रुपमा प्रमाण पत्र दिएको भन्ने कुरा आएकाले यसलाई अनुगमन गरी थप व्यवस्थित बनाउन लागिएको बताउनु भयो। उहाँले तालिममा सहभागि नभएकाहरुलाई समेत प्रमाण पत्र दिने संस्थाहरुलाई अनुगमन गरी कारबाही गरिने बताउनु भयो। उहाँले कार्यविधि,ऐन,निर्देशिकामा परिवर्तनको लागि पूर्वसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा ९ सदस्य समिति गठन भएको बताउनुभयो ।

वैदेशिक रोजगारमा जानेलाई बीमा गरेर जाने विषयमा समेत थाहा नहुने अवस्था छ । महिला श्रमिकको लागि अभिमुखिकरण तालिमको लागि सरकारले ७ सय रुपैयाँ दिन्छ भन्ने कुरा समेत थाहा नभएको अवस्था छ । बोर्डले यी र यस्ता विभिन्न विषयमा प्रभावकारी तालिम बनाउने कार्यविधि नै परिवर्तन गरेर जान लागेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले मेनपावरमार्फत वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण तालिमको लागि ७ सय रुपैयाँ तिर्ने गरेका छन् ।