१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपंक्षीसँग सम्बन्धित निकायमा बजेट शून्य भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा


325
Shares

काठमाडौं । सरकारले पशुपंक्षीसँग सम्बन्धित निकायहरुमा बजेट शुन्यमा पुर्‍याएको भन्दै पशुपंक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले बजेट वक्तव्यमार्फत पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, राष्ट्रिय दुग्ध विकास वोर्ड लगायतका कार्यालयको बजेट शुन्य अवस्थामा रहेको भन्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा.रामकृष्ण खतिवडाले लम्पी स्किन, बर्डफ्लु फैलिएको अवस्थामा समेत सरकारले यससँग सम्बन्धित कार्यालयलाई बजेट नै नदिएको बताउनुभयो । उहाँले सरकारले यो विषम समयमा पशुपंक्षी क्षेत्रको आयात निर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचनाहरु खारेजी तथा पुनः संरचना गर्ने नाममा सम्बन्धित सरोकारवालाको राय सुझाव नलिई सुनुयोजित ढंगबाट निर्णय गरेको बताउनुभयो ।

उहाँले किसानहरुको खर्बौको क्षति हुँदापनि पशुपंक्षीको रोग नियन्त्रण र उपचारमा सकृय रुपमा परिचालित हुनुपर्ने निकायहरुमा शुन्य बजेट भई काम नै ठप्प गरी बस्नुपर्ने अवस्थाको सृजना भएको बताउनुभयो ।

उहाँले पशुपंक्षी क्षेत्रको उत्पादनलाई संकुचित पार्ने र फेरिपनि नेपाललाई दुध माछा, मासु र अण्डाको डम्पिङ साईड बनाई नेपालका पशुपंक्षी उद्योगहरु धरासायी बनाउने र देशको समग्र अर्थतन्त्र र मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको बताउनुभयो ।

उहाँले सोमार र मंगलबार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो ।