७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोशी प्रदेशमा मुख्यमन्त्री थापाले लिने विश्वासको मत अन्योलमा, उपसभामुख काठमाडौंमा


1.014k
Shares

बिराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा आज सोमबार लिने भनिएको विश्वासको मत अन्योलमा परेको छ ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि आजको कार्यसूची तय गर्नु भएको थियो । तर विश्वासको मत लिने दिन आज उहाँ विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै काठमाडौं हिडेपछि थापाले लिने भनेको विश्वासको मत अन्योलमा परेको हो । दनुवार एमालेबाट उपसभामुख बन्नु भएको हो । प्रदेश सभामा नेकपा एमाले र राप्रपा एकातिर छन भने सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी जार्टी अर्काेतिर रहेका छन् ।

९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद रहेका छन् । उता सत्ता गठबन्धनमा कांग्रेसका २९,माओपादीका १३,एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना सांसद छन् । विश्वासको मतको पक्षमा बहुमतका लागि प्रदेश सभाका ४७ जना सांसदको आपश्यकता रहन्छ । सभामुख बाबुराम गौतम थापा सरकारमा मन्त्री बनेपछि सभामुखको कार्यभार उपसभामुख दनुवारले सम्हाल्दै आउनु भएको थियो । सभामुख र उपसभामुख नभएको अवस्थामा प्रदेश सभा बैठक प्रदेश सभाका जेष्ठ सदस्यले संचालन गर्नुपर्ने प्रावधान रहेको छ ।

विश्वासको मत लिने समयमा प्रदेशसभाको सभाध्यक्ष एमाले वा राप्रपाका तर्फबाट गरेमा थापाले सजिलै विश्वासको मत पाउने संभावना छ । तर त्यसो नभएमा सत्ता गठबन्धनले प्रदेशसभाको सभाध्यक्ष गर्नुपर्ने परिस्थिति निर्माण भएको अवस्थामा भने बहुमत (४७) पुर्‍याउन १ सांसद अभाव देखिन्छ ।