
काठमाडौं । कोशी प्रदेशमका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट आजै विश्वासको मत लिनुुहने भएको छ ।
कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै काठमाडौं हिडेपछि मुख्यमन्त्री थापाले आज सोमबार विश्वासको मत लिने काम टरेको बताउनु भएको थियो । तर सत्ता गठबन्धनमा रहेका दलहरुबीच छलफल गरेपछि थापाले आजै विश्वासको मत लिन लाग्नु भएको हो । अहिले प्रदेश सभा बैठक जारी छ ।
उपसभामुख दनुवार बिदामा बसेपछि अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले बैठक सञ्चालन गरिरहनु भएको छ । दनुवार एमालेबाट उपसभामुख बन्नु भएको हो । प्रदेश सभामा नेकपा एमाले र राप्रपा एकातिर छन भने सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी जार्टी अर्काेतिर रहेका छन् । सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापा सरकारमा मन्त्री बन्नु भएको छ । त्यसपछि उपसभामुख दनुवारले सभामुखको समेत जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेश सभामा जेष्ठ सदस्यले सभाध्यक्षता गर्ने प्रावधान रहेको छ । प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराइसकेका छन् । त्यसपछि सत्तावक्षकै मन्सुरीले बैठकको अक्ष्यक्षता गर्नुभएको हो ।
९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद रहेका छन् । उता सत्ता गठबन्धनमा कांग्रेसका २९,माओवादीका १३,एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना सांसद छन् । विश्वासको मतको पक्षमा बहुमतका लागि प्रदेश सभाका ४७ जना सांसदको आवश्यकता रहन्छ । उपसभामुख दनुवारले मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिनु भएको छ । मन्सुरीले समेत गठबन्धनका पक्षमा मत हाल्नुहुनेछ । मन्सुरीको मतसहित प्रदेशसभामा बहुमत सिद्ध गर्ने मुख्यमन्त्री थापाको रणनीति छ ।
प्रतिक्रिया दिनुहोस्