
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी पार्टीमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) भित्र्याउने नेता भएको बताउनुभएको छ ।
स्कुल अफ डेमोक्रेसीले स्वर्गीय नेता गिरीको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेता गिरी साँचो अर्थमा नेपालको पछाडि परेका समुदाय र क्षेत्रको नेता भएको दाबी समेत गर्नुभयो ।
गिरीलाई विपी पछिको समाजवादको व्याख्या गर्न सक्ने नेताको रुपमा चित्रण गर्दै सभापति देउवाले उहाँका विचारहरुलाई सबै राजनीतिक पार्टीहरुले अनुशरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । समाजवाद भनेको प्रजातन्त्रसहितको हुने कुरामा विश्वमा कहीँ पनि विमति नरहेको जिकिर गर्दै उहाँले त्यस विचारको पनि नेता गिरी पक्षपाती रहेको बताउनुभयो ।
सभापति देउवाले समाजवादबारे गिरीले धेरै कुरा बुझेकाले सोही मान्यताको आधारमा अघि बढ्न आवश्यक रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्