
काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गर्नुभएको छ ।
आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाईबर र केबल कार बिछ्याउने कामदेखि सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाई थियो ।
सांस्कृतिक समाज, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताउनुभयो । उहाँले नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रुपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने बताउनुभयो ।
दुर्गम सुदूरपश्चिम क्षेत्रको कमजोरी भएपनि अब त्यसलाई कनेक्टिभिटीको माध्यमबाट हटाउने कामले तिब्रता पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो ठाउँ अब सहज ढंगले अघि बढने बताउनुभयो । उहाँले त्यहाँको देउडा संस्कृति हरेक नेपालीको आफ्नै संस्कृति भएको पनि बताउनुभयो ।
त्यस अवसरमा अध्यक्ष ओलीले सुदूरपश्चिम क्षेत्रले नै नेपालको राणा शासन अन्त्यका लागि विगुल फुकेको पनि स्मरण गराउनुभएको थियो । कार्यक्रममा देउडा संस्कृति झल्कने खालको सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्