१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउँछौं : प्रधानमन्त्री दाहाल


78
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत उत्पादन क्षमता वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ ।

मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको जलविद्युत उत्पादन क्षमता अनुसार विद्युत उत्पादन गरी बढी भएको विद्युत व्यापारको माध्यमबाट मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमा लैजान सकिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले उत्पादन भएको विद्युतलाई मुलुकभित्रै खपत गरी बढी भएको विद्युत विदेश निर्यात गर्नसके नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार हुने दाबी गर्नुभयो । उहाँले अन्तरदेशीय विद्युत व्यापार वृद्धि गर्न सके मात्रै विद्युत उत्पादन गर्ने क्षमता पनि बलियो बन्नसक्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले बनाउँदै गएका अन्तरदेशिय प्रशारणलाइनहरु पूर्व, मध्ये,पश्चिम सबैतिर बन्दा आवश्यक परेको बेला खरिद गर्न र धेरै भएको बेलामा विद्युत निर्यात गर्ने काम भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले ठूला गेमचेन्जर जलविद्युत आयोजनाहरु बिस्तार गर्ने लागि रहेको बताउनुभयो । उहाँले नेपालको उत्पादन गर्न सक्ने क्षमताको जलविद्युत उत्पादन गर्न अझै ३० देखि ४० वर्ष लाग्नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले उत्पादन भएको विद्युत क्षमतालाई देशभित्रै खपत गर्ने धेरै कठिन रहेको भन्दै बढी भएको विद्युत नेपालले अन्तरदेशिय व्यापार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको भन्दै त्यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्ने तयारी भएको उल्लेख गर्नुभयो । उहाँले धेरै वर्षदेखि नेपालले प्रतिक्षा गरेको नेपालको विद्युत बंगलादेशसम्म पु¥याउने विषयमा तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल, भारत र बंलादेशकोबीचमा भएको त्रिपक्षिय सैदान्तिक समझदारीले नेपालको विद्युत बंलादेश निर्यात गर्ने बाटो खुलेको बताउनुभयो । प्रधानमन्त्री दाहालले देशभित्रै बढी भन्दा बढी विद्युत खपत गरी नेपाली जनताको जीवनलाई सहज र विकासलाई गति दिनेगरी सरकारले काम गर्ने बताउनुभयो । उहाँले अहिले चुलोदेखि सवारी साधनसम्म विद्युतबाट चलाउने प्रक्रिया शुरु भएको भन्दै यसले देशको अर्थतन्त्र सकारात्मक बनाउने विश्वास रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विद्युत उत्पादन क्षमता वृद्धिबाट मुलुकको अर्थतन्त्रलाई धेरै सुधार गर्न सकिने बताउनुभयो । उहाँले चाँडै हुने चीन भ्रमणमा प्रशारण लाइन र विद्युत् व्यापारका विषयमा सम्झौता गरिने बताउनु भयो । उहाँले उक्त सम्झौताबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रशारण लाइन पूर्व पश्चिम विद्युत आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताउनुभयो । उहाँले देशभित्र उत्पादित विद्युत् यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तिब्रता दिन र अतिरिक्त भएको विद्युत निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले १ हजार २०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिन लागिएको उल्लेख गर्नुभयो । उहाँले ठूला जलविद्युत परियोजनाहरुमार्फत देशको अर्थतन्त्र सुधार गरी आत्मनिर्भर बनाउन सम्भव रहेको बताउनुभयो । उहाँले विद्युत प्राधिकरण र मन्त्रालयले गरेको पहलकदमी सकारात्मक रहेको बताउनुभयो । उहाँले सरकारले जलविद्युतमा निजी लगानीलाई उच्च प्राथमिकतामा राखेर प्रोत्साहन गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले विद्युत खरिद तथा आयोजनाहरुमा थप सहयोग गर्ने बताउनुभयो । उहाँले जलविद्युत तथा प्रशारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गा अधिग्रहणको समस्या मौज्जुदा कानूनको संशोधन र नयाँ कानूनको निर्माण गरी सम्बोधन गरिने बताउनुभयो । उहाँले देशभित्रै विद्युत खपत बढाउनको लागि सवस्टेशन, प्रशारणलाइन, विद्युतीय चुलो र चार्जिङ स्टेशन बनाउन प्रोत्साहन गरिने बताउनुभयो । उहाँले विद्युत उत्पादन गरी खपत र निर्यात गर्न सके मुलुकको अर्थतन्त्रको क्रान्ति गर्नसक्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।