
दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी
काठमाडौं । विभिन्न अपराधमा संलग्न बालबालिका राखिएको भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा रहेका २२१ बन्दी फरार भएपछि उनीहरुको खोजी कार्य प्रहरीको टाउको दुखाईको विषय बनेको छ । सोमबार सुधार गृहको गेट तोडफोड गरेर बाहिरीएका बन्दीमध्ये केहीलाई नियन्त्रणमा लिएपनि उनीहरुलाई कहाँ राख्ने विषयमा अन्योल हुँदा यसले प्रहरीको टाउको दुखाएको हो ।
सोमबार भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट बाहिरीका बन्दीहरुको हो । ज्वरो र पिलो आएर थलिएका रामेछापका १९ वर्षीय किशोरलाई बेलैमा उपचार नगराउँदा मृत्यु भएको भन्दै कैदी बन्दीले विरोध गरेका थिए । सोही क्रममा केही कैदीबन्दी भाग्न सफल भए ।
सुधार गृहको सुरक्षामा खटिएका प्रहरीले हतियार बोक्न नपाउने कानूनी व्यवस्थाको फाइदा उठाउँदै बन्दीहरु सहजै बाहिर निस्किएका थिए । उनीहरुले नजिकैकौ निर्माणाधनि भवनबाट घरेलु हतियार र लाठी लिएर सडकमा निस्कँदा सो क्षेत्र केहीबेर तनावग्रस्त बन्यो ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर केही बन्दी र बन्दीको आक्रमणमा केही प्रहरी घाइते भए । घटनाको छानबिनका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको संयोजकत्वमा समिति गठन भएपनि मृतकका आफन्तले जाहेरी नदिँदा पोष्टमार्टम हुन सकेको छैन ।
यता सुधारगृहमा भने घटना लगत्तै अन्य बालबालिकाका आफन्तको घुइँचो लागेको छ । आफ्ना परिवारका सदस्यको स्थिति बुझन पुगेकाहरु भने सम्बन्धित निकायले समन्वय नगरेका भन्दै आक्रोशित भएका छन् ।
सोमबारको घटनालगत्तै सुधारगृहमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सो सुधार गृहमा रहेका अधिकांश बन्दीहरुले पुर्पक्षका लागि चार वर्षसम्म थुनामा रहँदा पनि अदालतले फैसला नगरेर बाहिर निस्क्न नपाउँदा सो घटना भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल बताउनुहुन्छ ।
बन्दी गृहबाट फरार भई रातारात नियन्त्रणमा लिइएकाहरुलाई हाल काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न हिरासतमा राखिएको छ । उनीहरुलाई स्थिति सामान्य भएपछि सोही बाल सुधारगृहमा ल्याउने तयारी गरिएको छ । सुधार गृहको व्यवस्थापन न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालले गर्दै आएको छ । यसका लागि गृह मन्त्रालयले युसेपलाई बजेट उपलब्ध गराउँछ । सुधार गृहमा माघ २९ मा कपिलवस्तुबाट १८ जनालाई ल्याएपछि समस्या बढ्दै गएको अधिकारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्