
काठमाडाैं । अविरल वर्षासँगै मौसमी प्रतिकूलताले बुधबार मुलुकका आधा दर्जन गन्तव्यका उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार लुक्ला, सुर्खेत, भोजपुर, दाङ, पोखरा, तुम्लिङटारका उडान प्रभावित भएको हो ।
बुधबार लुक्ला, सुर्खेत, भोजपुर, दाङ, तुम्लिङटारका उडान रद्द भएका छन् । पोखरा उडान अझै खुला भएको छैन । कतिपय उडान स्थगन भएको छ भने केही गन्तव्यमा भने उडान भइरहेका छन् । लुक्लातर्फ तारा, सीता र समीटको कुल ६ वटा उडान स्थगन भएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगमको दाङ र भोजपुरतर्फका उडान स्थगन भएको छ ।
मौसमी प्रतिकूलताले उडान प्रभावित भएपछि वायुसेवा कम्पनीहरुले आफ्नो मोबाइल एप र सम्पर्क कार्यालयमार्फत यात्रुलाई सूचना प्रवाह गर्दै आएका छन् ।
बुधबार अन्तर्राष्ट्रियतर्फ ७८ उडान–अवतरणको तालिका छ भने आन्तरिकतर्फ २ सय २४ वटाको तालिका रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्