८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतको मिजोरममा रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु


4.03k
Shares

एजेन्सी । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा १७ जना मजदुरको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार घटना मिजोरम राज्यको राजधानी आइजलबाट झण्डै २० किलोमिटर पर रहेको सैराङ क्षेत्रमा भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको पूर्ण विवरण प्राप्त भइनसकेको र भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुनसक्ने उद्धारमा खटिएका प्रहरी अधिकारीको आशंका छ ।

मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको ज्यान गएको पुष्टि गर्नुभएको छ । मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारी र मजदुर कार्यरत रहेका थिए ।

यसैबीच,प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीको कार्यालयले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख भारु क्षतिपूर्ति दिने जनाएको छ ।