२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दियामा सोनाहा जातिले मनाए गुरिया पर्व


195
Shares

बर्दिया । बर्दियामा लोपोन्मुख सोनाहा जातिको मुख्य चाडका रुपमा रहेको गुरिया पर्व मनाइएकाे छ ।

गेरुवा गाउँपालिका– २ राजीपुरमा बाक्लो बस्ती रहेको सोनाहाहरुले गुरिया पर्व हरेक वर्ष भव्य रुपले मनाउने गर्दछन् ।

बर्दिया, कैलाली र कञ्चनपुरमा मुख्य बसोबास रहेको सोनाहा जातिहरुले गुरिया पर्व विशेष रुपले मनाउने गर्दछन् । गुरिया पर्वमा विवाहित चेलीलाई माइतीघरमा बोलाउने प्रचलन छ ।

यस पर्वमा छरछिमेकका साथीहरु जम्मा भएर आफ्नो घरको दुःख–सुख गीतमार्फत साटासाट गरिन्छ । गुरिया पर्वमा गाउँमा सबैलाई सहज हुने ठाउँमा पिङ हाल्ने गरिन्छ । पिङ खेल्दै चेलिबेटीले गीतमार्फत माइतीबाट टाढीएको भावका साथै वेदनाहरु पोख्ने गर्दछन् ।

गुरिया पर्वको दिन दिउँसो सोनाहा समुदायका पुरुषले हरियो खर र बाबियोको मिश्रणले चाबुक बनाउँछन् जसलाई पटकी भनिन्छ । यस पटकीलाई साँझपख नदिमा लगेर उनीहरुले कला प्रर्दशन गर्दै पड्काउने गर्दछन् । पटकीलाई सोनाहा समुदायमा नागको प्रतिकको रुपमा लिने गरिन्छ ।

गुरिया पर्वमा सोनाहा जातिका बालबालिकाहरुले कपडाको रङ्गीचङ्गी खेलौना बनाउँछन् र साझँ पख नदिको किनारामा लगेर खानेकुरा चढाएर उनीहरुबाट पुजा गराइन्छ । पुरुषले बनाएको पटुकीबाट नागले घेरिएको जस्तो टोकरी बनाइ कपडाको गुडिया त्यसमा राखेर नदिमा बगाइन्छ ।

गुरिया पर्वको दिन माइत आएका चेलीहरुलाई तेलमा तारेको रोटी, गेडागुडी (घुघरी) खुवाउने गरिन्छ । पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ । देशभर एक हजार दुई सयको हाराहारीमा रहेका सोनाहा जाति अल्पसंख्यक जातिमा सुचिकृत हुन सकेका छैनन् ।

नदिको बगरमा बालुवा चालेर सुन संकलन गर्ने र नदिमा माछा मार्ने मुख्य पेशा रहेको लोपोन्मुख सोनाहा जातिको राज्यले संरक्षण र सम्वर्द्धन गर्न जरुरी छ ।