१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालको पहलकदमीले संसदको गतिरोध अन्त्य भयो : उपप्रधानमन्त्री खड्का


195
Shares

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धन गर्न दुई बुँदे सहमति भएकोबारेमा सदन समक्ष जानकारी गराउनुभयो । उपप्रधानमन्त्री खड्काले सो दुई बुँदे सहमतिले दलहरुबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको पनि बताउनुभयो ।

उहाँले उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीबारे निष्पक्ष ढंगले छानबिन गर्ने उल्लेख गर्दै अव संसदको ध्यान संघीयतासँग सम्बन्धित कानून निर्माणमा केन्द्रित हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानूनहरु निर्माणको काम थाँति नै रहेकाले त्यसलाई पूर्णता दिने काममा संसद र सांसदहरु केन्द्रीत हुनुपर्ने उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री खड्काले दलहरुबीचको सहमतीले मुलुक निर्माणमा सबै दलहरु मिलेर अघि बढ्ने विश्वासको वातावरण सृजना भएको समेत बताउनुभयो ।