२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले सिआईबीमाथि नै हस्तक्षेप गर्न थालेपछि उच्चस्तरीय छानबिनको माग गर्नुपर्‍यो : योगेश भट्टराई


104
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सुन तस्करी छानबिनका लागि सरकार आफैंले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाउनुभएको छ ।

सचिव भट्टराईले सिआईबीले अनुसन्धानको कामलाई ठिक ढंगले अघि बढाउने तर सरकारले त्यसलाई हस्तक्षेप गर्ने कामलाई निरन्तर अघि बढाएपछि आफ्नो पार्टीले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन माग गर्नुपरेको बताउनुभयो ।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सिआईबीमाथि आफ्नो पार्टीले विश्वास नगरेको भन्ने कुरा सही नभएको पनि पटकपटक दोहोर्‍याउनुभयो । सचिव भट्टराईले सुन तस्करी छानबिन, ललिता निवास प्रकरणमा सिआईवीले थालेको अनुसन्धान ठिक ठाउँमा पुग्ने तर सरकारले त्यसलाई हस्तक्षेप गर्ने काम गरिरहेपछि आफ्नो पार्टीले त्यसको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने अडान लिनु परेको बताउनुभयो ।

उहाँले सिआइबीसँग आफ्नो पार्टीको सम्बन्ध बिगार्ने प्रयास सत्तापक्षले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सचिव भट्टराईले ढिलै भएपनि सरकार आफ्नो पार्टीको माग अनुसार सो आयोग गठन गर्न सहमत भएको दाबी गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

सचिव भट्टराईले प्रहरीको अनुसन्धानको काममा हस्तक्षेप गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।