११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते (अपडेट)


2.171k
Shares

काठमाडौं । बाराको जीतपुरसिमरा चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्ला लोहारपट्टीका विजय पण्डित र ६ जना भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार मृत्यु हुने भारतीय नागरिकहरुमा राजस्थानका श्रीकान्त चतुर्वेदी, बहादुर सिंह, सत्यवती, मीरा देवी, राजेन्द्र चतुर्वेदी र वैजनती देवी छन् । उनीहरू ६० वर्षदेखि ७० बर्ष उमेरका रहेका पनि प्रहरीले जानकारी लिएको छ । दुर्घटनापछि फरार रहेका बसका चालक र सहचालकलाई प्रहरीले जनकपुरबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।