
ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानून निर्माणमा समस्या भएको बताउनुभयो । उहाँले साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताउनुभयो ।
मन्त्री शर्माले मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल सुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या सुरु गरेको बताउनुभयो । उहाँले कानूनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गर्नुभयो ।
मन्त्री शर्माले सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जाल सम्बन्धि ऐन पनि समेटिएकाले उक्त कानूनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने रुपमा बाहिर हल्ला गरिएको बताउनुभयो । उहाँले उक्त कानून बनाउन स्वार्थ समूहको कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको बताउनुभयो ।
मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने बताउनुभयो । उहाँले मन्त्रालयले कानून बनाउन विभिन्न समस्या झेलिरहेको बताउनुभयो । उहाँले मन्त्रालयले छुट्टाछुटै विषयमा विधेयक ल्याएर कानून बनाउने तयारी गर्न आवश्यक देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्