२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


समाजिक सञ्जालमा आउने भ्रामक विज्ञापन सुरक्षित आप्रवासनमा मुख्य चुनौति


65
Shares

काठमाडौं । महिला मानव बेचबिखनविरुद्धको विश्वव्यापी सञ्जाल (ग्लोवल एलायन्स अगेन्स्ट ट्राफिक इन वुमन) ले संयुक्त अरब इमिरेट्समा कार्यरत आप्रवासी कामदारको अवस्थाको अनुगमन गरेको छ ।

सञ्जालले श्रम उत्पत्ति मुलुक मध्येका नेपाल, भारत, बंगलादेश र श्रीलंकामा मानव बेचबिखनविरुद्ध तथा सुरक्षित आप्रवासनमा काम गरिरहेका संस्था समेतको सहभागितामा युएईमा आप्रवासी कामदारको अवस्थाबारे अनुगमन गरेको हो । युएईमा मानव बेचबिखनबिरुद्ध काम गरिएको मिडल इस्ट सेन्टर फर ट्रेनिङ एण्ड डेभलपमेण्टले समन्वय गरेको सो अनुगमनका क्रममा चार वटै देशबाट श्रमका लागि युएई गएर काम गरिहेका विभिन्न क्षेत्रका श्रमिकसँग छलफल गरिएको हो ।

नेपालबाट युएई गएको टोलीले नेपाली युएई समाज, गैरआवासीय नेपाली समाज, श्रमिक सञ्जाल लगायत आप्रवासी कामदारको अधिकारको क्षेत्रमा काम गरेका स्थानीय संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेको छ । सञ्जालकी अन्तर्राष्ट्रिय प्रतिनिधि वन्दना पटनायकले युएई सरकारले श्रमिकको हकहीत र सुरक्षाबारे कसरी काम गरिररहेको छ भन्नेबारेमा निरीक्षण गरेको बताउनु भयो ।

अध्ययन टोलीले अधिकांशको रोजाइमा परेको संयुक्त अरब इमिरेट्स पछिल्लो समय मानव बेचबिखनको ट्रान्जिट बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । लामो समयदेखि आप्रवासी श्रमको मूल्य बढ्न नसकेको तथा दलालहरुले अन्य मुलुक पठाइदिने प्रलोभनमा पारेर भिजिट भिसामा लगेर अलपत्र पार्ने गरेको पाइएको भन्दै टोलीले गन्तव्य मुलुकमा पनि आप्रवासी कामदारलाई ती मुलुकका ऐन र कामदारका अधिकारबारे जनचेतना फैलाउनु अनावश्यक रहेको निष्कर्ष निकालेको छ ।