२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे : माधवकुमार नेपाल


1.391k
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उहाँले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गर्नुभएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भएपनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो । अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रश्ताव पनि नगरेको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दै उहाँले पार्टीलाई बिजोग बनाएर आफूले भने राष्ट्रपति बन्न त्यतिखेर नचाहेको समेत बताउनुभयो । अध्यक्ष नेपालले नेकपा ब्युँताऊ भनेर आफूले पठाएको प्रस्तावलाई पनि ओलीले लत्याएको दोहोर्‍याउनुभयो ।

अध्यक्ष नेपालले ओलीको तानाशाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि बताउनुभयो ।