
धरान । सुनसरी प्रशासनले शनिबार धरानमा निषेधाज्ञा जारी गरेपछि हिन्दुवादीहरुले सुनसरीको इटहरीमा प्रर्दशन गरेका छन् ।
धरानमा गर्ने भनिएको प्रर्दशनमा स्थानीय प्रशासनले रोक लगाएपछि उनीहरुले इटहरीमा प्रर्दशन गरेका हुन् ।
जगत गुरु बालसन्तको नेतृत्वमा हिन्दुधर्म समर्थकहरुले हिन्दु राष्ट्र कायम गर्न माग गर्दै सद्भाव नबिथोल्न आग्रह पनि गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुत्रफबार रातिदेखि शनिबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेपछि धरानको सुरक्षा व्यवस्था कडा पारीएको छ ।
देश भरीबाट धरानमा प्रदर्शन गर्न आउँदै गरेकालाई प्रहरीले बीच बाटोमै रोकिदिएको छ । धरान, इटहरी, इनरुवा, बराहक्षेत्र लगायतबाट भेला भएका उनीहरुले इटहरीका विभिन्न ठाँउमा प्रदर्शन गरेका छन् । गौमाताको रक्षा गर्न र सामाजिक सद्भाव नबिथोलियोस भनेर प्रदर्शन गरेको उनीहरुले जनाएका छन् ।
धरान प्रवेशमा रोक लगाउँदै तरहराको पानीपियामा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राई र सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी प्रेम सिग्देलको नेतृत्वमा ५ सय भन्दा बढी प्रहरी परिचालन गरीएको छ । धरानमा ५ हजार भन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेपछि आज धरान भने शान्त बनेको छ ।
धरानमा सामाजिक सदभाव भडकिन नदिन कोशी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लाबाट थप प्रहरी झिकाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्