
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ ।
आइतबार जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले टुहुरेको योगदानको कदर गर्दै सरकारले उहाँलाई जनगायकको उपाधि दिएको बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पीरमर्का, दुखव्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरूद्ध विद्रोहचेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो। बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिंगो जीवन उर्जाले भरिएको छ, सकारात्मक जीवनशक्तिद्वारा ओतप्रोत छ, जनताको मुक्ति र परिवर्तनको दृढ आकांक्षाले भरिपूर्ण छ भन्ने तथ्य उहाँका सिर्जना, जीवन र कर्मले प्रमाणित गर्दछ। नेपालको वाम लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रिपरिषद्को बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ।’
प्रतिक्रिया दिनुहोस्