१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


दुबइ पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने–लाखौं युवा विदेशिनुमा गलत नीति र नेतृत्व जिम्मेवार


520
Shares

दुबइ, युएई । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने श्रमका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताउनुभएको छ ।

राप्रपा निकट प्रवासी नेपाली एकता समाज(पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताउनुभएको हो । लिङ्देनले गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौं युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटी र गलत मार्गचित्र सच्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले धर्मनिरपेक्षको आडमा नेपालको सनातन घर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । अध्यक्ष लिङदेनले धर्मनिरपेक्ष खारेज गरी नेपाल वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा जोड दिंदै त्यसमा राप्रपाले निरन्तर आवाज उठाइरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको बताउदै राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गर्नुभयो । हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक संजालमा प्रचार गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दैै उहाँले कानुन विपरीतका गतिविधि भइरहँदा सरकार मुकदर्शक बन्नु आश्चर्यको विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरु जिम्मेवार रहेको बताउनुहुदै नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दु राष्ट्र स्थापना गर्न सकिने ठोकुवा समेत गर्नुभयो ।

पार्टी सम्बद्व प्रवासी नेपाली एकता समाज साउदी अरब र युएइको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबईमा रहनुभएका अध्यक्ष लिङ्देनले प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहनुभएका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिनुभयो ।