
काठमाडौं । सरकारी संस्थाहरुको बेरुजु फछ्र्यौट र असुल उपरमा सुधार आउन सकेको छैन ।
सरकारको विभिन्न निकायको बेरुजु फछ्र्यौट तथा सरकारी बाँकी रकमहरु असुल उपर गर्ने जिम्मेवारी पाएको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा जम्मा १ करोड ९७ लाख रुपैयाँ असुल उपर गरेको छ ।
सरकारका विभिन्न निकायको कारोवारमा २ अर्ब ५२ करोड रुपैयाँ साँवा र ब्याजसहित असुलउपर गर्नुपर्ने देखिन्छ । तर गत आर्थिक वर्ष २०७९/८० मा कुमारीचोक तथा केन्द्रिय तहसील कार्यालयले १ करोड ९७ लाख रुपैयाँ असुल उपर गरेको छ । यद्यपि यो रकम गत तीन आर्थिक वर्षको भन्दा चाहीँ धेरै नै रहेको कुमारीचोक तथा केन्द्रिय तहसील कार्यालयकी कार्यालय प्रमुख नमूना कार्की दाहालले बताउनुभयो ।
गत आर्थिक वर्षमा कार्यालयले ५ वटा तेजारथ बापतको सरकारी बाँकी असुल गरेको जनाइएको छ । यस्तै घरेलु तर्फको २४ वटा लगत कट्टा गरेको र एउटा मात्रै सरकारी बाँकीसरह असुल उपर गर्नुपर्ने लगत कट्टा गरेको दाहालले जानकारी दिनुभयो । उहाँले कतिपय असुलउपर गर्नुपर्ने व्यक्तिहरु अदालत जाने र अदालतबाट असुलउपर नगर्नु भन्ने अन्तरिम आदेश लिएर आउने भएकाले पनि लक्ष्य अनुरुपको असुल उपर गर्न नसकिएको बताउनुभयो ।
यस्तै, २०१८ सालको महालेखाको प्रतिवेदनपछि २०५९/०६० सम्मको सरकारी बेरुजुतर्फ भने १८ अर्ब भन्दा बढी थियो । अहिलेसम्म झन्डै ३ अर्ब असुल उपर र फस्र्यौट भइसकेको र अब १५ अर्ब बराबरँ अझै असुल उपर हुन बाँकी रहेको उहाँले बताउनुभयो । कतिपय व्यक्तिले राजनीतिक पहुँचको प्रयोग गरी डर, त्रास देखाउने गरेको पनि उहाँले उल्लेख गर्नुभयो । कार्यालयसँग स्रोत, साधनको कमी हुँदापनि काम गर्न कठिनाइ भएको उहाँले बताउनुभयो । कार्यालयमा लेखाको कर्मचारी मात्रै भएको उल्लेख गर्दै दाहालले कानून र अनुसन्धान हेर्ने कर्मचारीको व्यवस्था भएमा काम गर्न सहज हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्