४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन : शशांक कोईराला


377
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद शशांक कोईरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोईरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताउनुभएको हो । सांसद कोईरालाले आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै राजनीतिमा युवाको आवश्यकता औँल्याउनुभयो । उहाँले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताउनुभयो ।

सांसद कोईरालाले सभापतिको उम्मेदवार बन्नेबारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘पन्ध्रौँ महाधिवेशनको तयारीको सिलसिलामा सातै प्रदेशमा घुम्ने । किनभने भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ । हामी त बुढो भइसक्यौँ कहिले ढल्छौँ थाहा छैन । म सबभन्दा पहिले साथीहरुसँग कुरा गर्छु । उनीहरुको चाहना के हो ? मैले मात्रै चाहेर त भएन नि । उनीहरुको चाहना हेर्छु । अनि त्यसपछि निर्णय गर्छु । गठबन्धनको सरकारमा हामीले गिभ एण्ड टेक गर्नुपर्छ । आफ्नै गोरुको बाह्रै टक्का हुँदैन । चाहँदा चाहँदै पनि हामी सुधार ल्याउन सक्ने सम्भावना म देख्दिनँ । गठबन्धन सरकारलाई स्थायित्व दिनका लागि गरेको । जनता खुशी छैन । तर यो बाध्यता हो ।’

सांसद कोईरालाले गठबन्धनको सरकार भएका कारणले सरकारले चाहेजस्तो काम गर्न नसकेको बताउनुभयो ।