
इलाम । इलाम बजारमा जोडिएका अधिकांश सिसी क्यामेरा नचल्ने अवस्था छन् ।
इलाम बजार प्रवेश गर्ने मेची राजमार्गको जिरो किलोमिटर क्षेत्रमा जोडिएका २२ क्यामेरामध्ये सात वटा मात्र सञ्चालनमा रहेका छन् । क्यामेरा निगरानीका लागि जिल्ला प्रहरी कार्यालय इलामको एउटा कोठामा कम्प्युटरसहित टिभी राखिए पनि ती क्यामेरा अहिले बन्द अवस्थामा छन् ।
केही महिनाअघि इलाम बजार क्षेत्रमा विद्युतका तार व्यवस्थापन गर्ने क्रममा क्यामेरा जडित तारमा समस्या भएपछि क्यामेरा नचल्ने भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । उहाँले क्यामेरा नचल्दा शान्ति सुरक्षा कायम राख्न समस्या भएको बताउनुभयो ।
यता इलाम नगरपालिका– ७ का वडाध्यक्ष नरेश श्रेष्ठले बजारमा रहेका तार व्यवस्थापनको कार्य गर्दा सिसी क्यामेरामा समस्या आएकाले यसको मर्मत नगरपालिकाले गर्ने बताउनुभएको छ ।
आपराधिक गतिविधि नियन्त्रणसँगै ट्राफिक व्यवस्थापनका लागि पाँच वर्षअघि प्रदेश सरकार, जिल्ला प्रहरी कार्यालय इलाम, इलाम नगरपालिका, उद्योग वाणिज्य संघसहित जिल्लामा सञ्चालित विभिन्न बैंकहरुको सहयोगमा बजार क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्