१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बुटवलका तत्कालिन डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


975
Shares

काठमाडौं । ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालिन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेका थिए । सो सूचनाका आधारमा केसीको निवास खानतलासी गर्दा नगदसहित सुन बरामद भएको थियो ।

केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन लिई गई १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैंले जिम्मा लिएका थिए ।

उनले सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद रु ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस रिसवत लिन लगाई सुन फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।